नदीमा खसेर बेपत्ता गाडी र दुई जनाको शव गोताखोरले भेट्टायो [तस्बिरहरू]

294

सिन्धुली, २४ जेठ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लैकुनास्थित सुनकोशी नदीमा खसेर बेपत्ता सिटिइभिटीका कर्मचारी चढेको गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले मंगलबार फेला पारेको छ ।

एक जना भने अझै बेपत्ता रहेका छन् र उनको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोर टोलीले गाडी भेट्टाएर नदीबाट बाहिर निकालेका हुन् ।

उक्त शव तनहुँ जिल्लाको भानु नगरपालिका–९ बस्ने सिटिइभिटीका प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण केसी र इलाम जिल्लाको सूर्योदय नगरपालिका–५ बस्ने ३२ वर्षीय विद्युत् प्रशिक्षक भानु पौडेलको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

पूर्वी नवलपरासी जिल्लाको प्रगतिनगर नगरपालिका–७ बस्ने योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल अझै बेपत्ता रहेका छन् । सो दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण सिनामंगल काठमाडौँ र उक्त तालिम शिक्षालयबाट गोताखोर टोली खोजीकार्यका लागि खटिएको थियो ।

प्रदेश नम्बर ३–०१–००२ झ ४९८५ (इम्बोस्ट नम्बर बिएबी ७४६७) को स्कार्पियो गाडी जेठ १९ गते शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा घुर्मी–खुर्कोट सडकखण्डअन्तर्गत सो ठाउँबाट सुनकोशी नदीमा खसेको थियो । दुर्घटनापश्चात गाडीका चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर नदीबाट बाहिर निस्कन सफल भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...