एकाउन्न दिनमा ‘जारी’

77

काठमाडौँ, २० जेठ । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको ५१ दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्‌को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कवि/कथाकार उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् ।

चलचित्रले आज काठमाडौँ उपत्यकासँगै मोफसलको सहर बुटवल, नेपालगञ्ज, नारायणघाट र विर्तामोडमा प्रदर्शनको ५१ दिन पूरा गरेको हो । चलचित्रका कार्यकारी निर्माता मणिराज पोखरेलले यो खुसी शब्दमा गर्न नसकिने बताए ।

“वर्षकै पहिलो ५१ दिन पूरा गर्ने चलचित्र बन्यो । अहिले चलचित्र भवनको संख्या बढेको समयमा यो सफलता विरलै हो । पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रूचाउनुभयो,” उनले भने ।

चलचित्रले शुक्रबारसम्म १४ करोड २१ लाख २३ हजार ६७८ रूपैयाँको विशुद्ध (कर कट्टा गरिएको नेट कलेक्सन) व्यापार गरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ । कबड्डीका श्रृंखलामार्फत् लेखनमा सक्रिय सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेको बताए ।

“महिला आँटिला र साहासिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भए भन्दैमा सम्मानबिना बस्दैनन्,” निर्देशक सुब्बाले भने । महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने आत्म निर्णयको सुविधा लिम्बूवानमा रहनुको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नबुझ्न आग्रहसमेत गरे ।

“लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारूङ) दिइने चलनमा आधारित छ । त्यो युप्पारूङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ,” निर्देशक सुब्बाले भने ।

चलचित्रमा दयाहाङ राई, मिरूना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरूङलगायतले अभिनय गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...