नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान आजदेखि

36

काठमाडौँ, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको अदालती बयान प्रक्रिया आजदेखि सुरू हुने भएको छ ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्काली गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत १६ जना पक्राउ परेका छन् । बाँकी १४ जना फरार छन् ।

सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा ५ वटा कसुरमा मुद्दा दायर गरेको छ ।

राज्यविरूद्धको अपराध, संगठित अपराध, कीर्ते, गठीलगायतका आरोप दर्ज गराएर मुद्दा दर्ता गराइएको छ । बिहीबार सार्वजनिक बिदा परेकाले आजदेखि अदालतमा बयान सुरू गर्न लागिएको हो ।

१६ जनाको बयान सकिन केही दिन लाग्ने निश्चित छ । एकजना प्रतिवादीको बयान गर्न कम्तिमा पनि २–३ घन्टा लाग्ने छ ।

बयान सकिएपछि मात्र थुनछेक बहस सुरू हुने छ । सरकारी वकिल र १६ जना प्रतिवादीका कानुन व्यवसायी बहसमा सहभागी हुने छन् । यो प्रकरणमा सचिव, पूर्वसांसद, पूर्वगृहमन्त्रीजस्ता प्रतिवादी भएका कारण एकै प्रतिवादीले धेरै कानुन व्यवसायीलाई बहसमा उतार्न सक्ने सम्भावना छ ।

बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्ने छन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै ११५ जना पीडितहरूले उजुरी दिएका थिए । अझै सयौँ पीडित सम्पर्कमा नआएको र केही प्रतिवादीहरूको पूरा विवरण नखुलेको भन्दै यो प्ररणमा फेरि अनुसन्धान गर्ने बाटो प्रहरीले बाँकी नै राखेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरी यो घटनामा अनुसन्धान सुरू भएको थियो । उनीहरूलाई पक्राउ गरिएको ६०औँ दिनमा बुधबार अभियोगपत्र दर्ता भएको हो ।

अदालतमा अभियोगपत्र दर्ता भएपछि प्रतिवादीलाई थुनामा राख्न अब अदालतबाट म्याद लिइरहनु पर्दैन ।

Share This:
सम्बन्धित खबर
Loading...