नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले संलग्न छैन : ओली

35

काठमाडौँ, १० जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कुनै पनि भ्रष्टाचारमा संलग्न नरहेको र संलग्न नहुने बताउँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि संलग्न नभएको बताएका छन् ।

एमालेको जनसंगठन समन्वय संयन्त्रद्वारा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रष्ठिानमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “म एकमुष्ट भन्न चाहन्छु, नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) संलग्न छैन, थिएन र हुँदैन ।”

भ्रष्टाचार देश, जनता, विकास र इमानको शत्रु भएको बताउँदै ओलीले भने, “पार्टीका नेताकार्यकर्ता कोही कतै दोषी भेटिए एमाले आफैँले कारबाही गर्छ ।”

एमाले पार्टीहरूमध्येको एउटा पार्टी नभइ समाज परिवर्तनको काममा लागेको पृथक पार्टी भएको बताउँदै उनले एमालेविरूद्ध बदनियत, षड्यन्त्रपूर्ण र अनुचित ढंगले प्रहार भइरहेको बताए । एमालेमाथि सबैतिरबाट तीव्र हमला गरेर सिध्याउन खोजे पनि पार्टीलाई अझ सशक्त रूपमा अघि बढाउने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले पार्टीविरू दशतिरबाट प्रहार भइरहेको समयमा पार्टीको रक्षा गर्ने असाधारण काम भएकामा सबै जनसंगठन र सिंगो पार्टीपंक्तिलाई धन्यवाद दिए ।

उनले जनसंगठनका पदाधिकारीहरूलाई देश बिग्रन नदिनका लागि वैचारिकरूपमा सचेत र सक्रिय जनमत तयार गर्नुपर्ने भएकाले त्यस काममा लाग्न निर्देशन दिए । उनले भने, “फुर्सदको समयमा आरामले काम गर्ने अवस्था देशको छैन । देश बर्बाद भएपछि होइन, समयमै सचेतना र सक्रियतासाथ लाग्नुस् ।”

Share This:
सम्बन्धित खबर
Loading...