काठमाडौँ, ६ जेठ । भुटानी शरणार्थीलाई स्वदेश फर्काउन नेता टेकनाथ रिजालले गरेको संघर्ष अन्तर्राष्ट्रिय रूपमै चर्चित छ । तर, उनै नेता अहिले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनले नक्कली भुटानी शरणार्थी बनाउन बिचौलियासँग रकम नै बुझेका थिए । प्रहरी हिरासतमा रहेका सानु भण्डारी र सागर राईले धन्दामा रिजाल पनि संलग्न रहेको बयान सुरूमै दिएका थिए ।
रिजालले धन्दाका क्रममा ७ लाख रूपैयाँ बुझेको विवरण त प्रहरीले भण्डारीकै डायरीमा फेला पारेको थियो । तर, प्रहरीले उनलाई पक्राउ गर्ने प्राथमिकतामा राखेको थिएन । पछि रिजालले रकम बुझेको बैंक ‘स्टेटमेन्ट’ नै फेला पारेपछि मात्रै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
७६ वर्षीय रिजालले नेपाल सरकारबाट दैनिक भारणपोषणका लागि भन्दै प्रत्येक वर्ष १३ लाख रूपैयाँ भत्ता बुझ्दै आएका छन् । त्यसबाहेक गाडी र सुरक्षागार्डको सुविधासमेत पाएका थिए ।
झापाको बिर्तामोड बस्दै आएका उनले सरकारबाट १ असोज २०६१ देखि ‘ट्राभल डकुमेन्ट’ पनि पाएका थिए । ०६३/६३ को आन्दोलनपछि उनलाई नेपाल सरकारले उक्त सुविधा दिँदै आएको हो ।
भुटानमा छँदा उनी भुटान पिपुल्स पार्टीका अध्यक्ष बनेका थिए । भुटानको लामिडाँडाबाट चुनाव जितेर डेढ दशकसम्म भुटानमै सेवा गरेका थिए । उनले भारतको बनारसबाट संस्कृतमा आचार्य गरेका छन् । भुटानी नरेशलाई शिक्षा र भ्रष्टाचार नियन्त्रणमा सल्लाह र सहयोग गर्ने उनी मुख्य व्यक्ति मानिन्छन् ।
भुटानी शरणार्थीको सवालमा भुटानी राजाको विरोधमा उत्रिएका उनी सन् १९८९ मा नेपाल आएका थिए । त्यहीँ बेला उनलाई तत्कालीन नेपाल सरकारले पक्राउ गरेर भुटानलाई जिम्मा लगाएको थियो । उनीविरूद्ध जन्मकैदको फैसला भएको थियो । १० वर्ष जेल जीवनपछि उनलाई भुटानी राजाले माफी दिएका थिए । त्यसपछि रिजाल नेपाल आएका थिए । नयाँ पत्रिकाबाट