नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणको बयान आज पनि

52

काठमाडौँ, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग आज पनि बयान लिइने भएको छ ।

गत बिहीबार पक्राउ परे पनि सोमबारदेखि मात्रै विषय केन्द्रित भएर बयान सुरू भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो ।

सरकारी वकिल प्रमुख एवम् महान्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार सोमबारदेखि सुरू भएको खाणको बयान आज पनि जारी रहने छ ।

सो प्रकरणमा मुछिए पनि खाणले ‘मोबाइल फर्म्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागेपछि सोमबारदेखि मात्रै उनको बयान सुरू गरिएको प्रहरीले जनाएको छ ।

आइतबार पनि उनलाई कार्यालयमा पुर्‍याइएको थियो । बयान लिन अगावै खाणले सरकारी वकिल प्रमुख न्यौपानेलाई आफ्नो स्वास्थ्य अवस्था ठिक नभएको जानकारी गराएका थिए ।

आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परेका टोपबहादुर रायमाझीको पनि सोमबारै बयान लिइएको थियो ।

उनीहरूसहित १३ जनालाई अदालतल दिएको म्याद बुधबार सकिँदै छ । बुधबार उनीहरूलाई पुनः अदालतमा उपस्थित गराएर म्याद थप गराउनुपर्ने हुन्छ ।

उनीहरूमाथि प्रहरीले संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको हो । जसअनुसार ६० दिनभित्रमा मुद्दा बुझाइसक्नुपर्छ । मिसिल अध्ययन गर्नुपर्ने भएकाले सरकारी वकिलले पनि प्रहरीलाई चाँडो अनुसन्धान सकाउन भनेको छ । चैत १२ गतेदेखि सुरू भएको अनुसन्धान आज ५३ दिन पुगेको छ ।

आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो प्रकरणमा गृहमन्त्रीको हैसियतमा खाणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रूपैयाँ दिएको बयान दिएपछि खाण सो प्रकरणमा तानिएका हुन् ।

साथै, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिएपछि खाणलाई पक्राउ गरी हिरासतमा लिइएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...