सहकारीको ३३ लाख चोरी गरी फरार दुई जना पक्राउ

61

मनहरी, १ जेठ । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवार गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको वैशाख १७ गते सहकारीबाट ३३ लाख चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवार–५ बस्ने ३० वर्षीय अशोक रूम्बा र ३५ वर्षीय अकबर लामालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

उनीहरूको साथबाट नगद ५ लाख ४५ हजार, एक नाले भरूवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाइएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...