आरजु र मञ्जुलाई पैसा बुझाएको भन्ने अडियो क्लिप प्रहरीमा, आरजु भन्छिन्– म डराउन्न

183

काठमाडौँ, २५ वैशाख । नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी दुई नेत्री डा.आरजु राणा देउवा र मञ्जु खाण मुछिएको अडियो क्लिप प्रहरीसमक्ष पुगेको छ ।

पक्राउ परेका व्यक्ति र पीडितबीच अडिओमा कुराकानी भएको सुनिन्छ । अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार उक्त अडियो गिरोहका सदस्य सन्देश शर्मा र नक्कली भुटानी बनेर अमेरिका उड्न चाहने व्यक्तिको हो । उनीहरूबीचको कुराकानीमा राणा र खाणलाई गरी साढे ८ करोड रूपैयाँ बुझाएको भन्ने सुनिन्छ ।

अर्को अडियो क्लिपमा कांग्रेसकै नेता डा.शेखर कोइराला र सुजाता कोइरालालाई मुछिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने विषयमा यी नेतासँग कुराकानी भइरहेको शर्मा र अमेरिका उड्न चाहने व्यक्तिबीचको अडियो सुनिन्छ । यसमा आर्थिक लेनदेको विषय भने छैन ।

अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार पीडितहरूले यो गिरोहका सदस्यसँग गरेको थुप्रै कुराकानीको अडियो प्रहरीसँग पुगेको छ । “अडियोमा विभिन्न नेताहरूलाई पोलेअनुसार प्रमाण हामी संकलन गरिरहेका छौँ,” ती अधिकारी भन्छन्, “यस्ता अडियो त थुप्रै छन् । त्यसको वास्तविकतामा पुग्ने चरणमा छौँ ।” अनुसन्धानकै विषय भएकाले अझै थुप्रै विषय खोल्न नमिल्ने समेत उनको भनाइ छ ।

प्रायः पीडितहरूले गिरोहका सदस्यसँग भएका संवादको रेकर्ड राखेको समेत उनले बताए । “अन्य सबुदसँग जोड्ने प्रयास गरिरहेका छौँ,” ती अधिकृतले भने ।

८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो । गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो ।

कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो । यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छुट’ सूची भन्दै अनाधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्‍याउन खोजेको हो । यसका लागि प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रूपैयाँसम्म असुलिएको उजुरी प्रहरीमा छ । कार्यदलको उद्देश्य नै नक्कली भुटानी शरणार्थी खडा गरेर विदेश लैजाने देखिएको भन्दै प्रहरीले कार्यदलका सदस्यलाई समेत अनुसन्धानमा खिचेको छ ।

केशव दुलाल, सन्देश शर्मा, सानुराम भण्डारी, टेक गुरूङ र सागर थुलुङले गृह प्रशासन, नेता र अमेरिका जान चाहनेबीच बिचौलियाको भूमिका खेलेको आरोप छ । उनीहरू प्रहरी हिरासतमा छन् ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र गृहसचिव टेकनारायण पाण्डेले यो समूहलाई सघाएको प्रहरीको भनाइ छ । पूर्वमन्त्री एवम् सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा फरार छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाण अनुसन्धानको दायरामा छन् ।

यद्यपि, आरजु राणाले प्रतिनिधिसभाको बैठकमा बोल्दै अडियो महिलालाई तल पार्ने उद्देश्यले आएको बताएकी छन् । उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छन् ।

उनले भनिन्, “एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सैह्य हुँदैन रहेछ । पुरूषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरूले भनेको भाषा मात्रै हामीले बोल्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले अभ्यास गर्नुपर्ने, कुनै पनि नारी अलिकति सार्वजनिक जीवनमा आयो भने पुरूषहरूलाई असैह्य हुने परिस्थिति बनेको छ । तर, पनि जसले जति आलोचना गरे पनि मैले बिराएको छैन, म डराउन्नँ ।”

Share This:
सम्बन्धित खबर
Loading...