नक्कली शरणार्थी प्रकरण, प्रहरी भन्छ– टोपबहादुर रायमाझी सम्पर्कमा छैनन्

158

काठमाडौँ, २३ वैशाख । प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रूपैयाँ संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ ।

पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धान विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण संकलन गर्ने तथा पक्राउ पुर्जी जारी भएका आरोपीको खोजी कार्यमा प्रहरी टोली जुटेको परिसरका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले बताए ।

उनले पुर्जी जारी भएका नेकपा (एमाले)का सचिव एवम् पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको बताए । यसअघि पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजका बारेमा प्रहरीले कुनै जानकारी पाउन सकेको छैन ।

“अब १० देखि ११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको छ,” परिसरका प्रवक्तासमेत रहेका एसपी रिजालले भने,“अहिलेसम्म ८ जना पक्राउ गरी अनुसन्धान भइरहेको छ ।”

पक्राउ परेका तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।

जिल्ला प्रहरी परिसरले उनीहरूविरूद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । यस घटनामा अहिलेसम्म १०६ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख रूपैयाँ ठगी भएको भनी जाहेरी दिएका छन् । सुरूमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकामा कार्यालयले केहीलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरलाई बुझाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...