गलकोट नगर अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे सेवा सुरू

36
  • थम्मन थापा

बागलुङ, २२ वैशाख । गलकोट नगर अस्पतालमा बिहीबारदेखि अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे सेवा सुरु गरिएको छ ।

गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरिद गरी सेवा प्रदान गर्न सुरु गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए । नगरबासी नागरीकलाई अत्याधुनिक सुविधासहितको स्वास्थ्य सेवा प्रदान गर्न डिजिटल एक्सरे मेसिन खरिद गरी सञ्चालनमा ल्याइएको उनको भनाइ थियो ।

गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमार्फत् १६ लाख मूल्य पर्ने उक्त अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरीद गरिएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुशील पौडेलले जानकारी दिए । उनले यसभन्दा पहिले अस्पतालमा म्यानुअल एक्सरेमार्फत् सेवा दिँदै आएकोमा अब भने सुविधा सम्पन्न डिजिटल एक्सरे मेसिनमार्फत् सेवा दिन थालिएको बताए ।

डिजिटल एक्सरे मेसीनको सेवा सुरु भएसँगै अब भने अस्पतालमा आउने बिरामीहरुलाई सहज हुने गलकोट नगर अस्पतालले जनाएको छ । बिहीबार पहिलो दिन अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिनबाट ५ जनाले सेवा लिएको समेत जनाइएको छ ।

अहिले गलकोट नगर अस्पतालमा दिनहुँ बिरामीको चाप बढ्न थालेपछि आकस्मिक कक्ष (इमर्जेन्सी सेवा) समेत सञ्चालनमा ल्याइएको छ । अस्पतालमा बिरामीहरुको भर्ना गरी चौबिसै घन्टा स्वास्थ्य सेवा प्रदान गर्न थालिएको गलकोट नगर अस्पताल व्यवस्थापन समितिका सदस्य तथा गलकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पवन हमालले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...