एमाले सचिव रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

69

काठमाडौँ, २१ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी बुटवलबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार उनलाई बिहीबार काठमाडौँ ल्याउने तयारी भएको छ ।

पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि उनको बयानका आधारमा रायमाझीका बाबुछोरालाई पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोपबहादुर रायमाझीको नाम लिएका छन् ।

बयानमा उनले भनेका छन्, ‘हामीलाई टोपबहादुर रायामझीको सहयोग छ ।’ सो बयानका आधारमा अदालतले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...