नेपाली सेनाद्वारा विपद् व्यवस्थापनसम्बन्धी ‘डेमो’ प्रदर्शन [फोटो फिचर]

114
  • थम्मन थापा

बागलुङ, १८ वैशाख । भनिन्छ विपद् बाजा बजाएर आउँदैन । मानव जीवनमा अप्ठ्यारो, आपतकालीन, भयभित अवस्था सिर्जना भई धनजनको क्षति हुनु विपद्को समय हो । यस्तो संकट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपद्का बेला सधैँ होसियारीसहित तयारी हुनुपर्छ । विपत्ति प्राकृतिक र मानविय दुई कारणबाट हुने गर्दछ ।

प्राकृतिक विपत्तिमा हुने बाढी, पहिरो, भूकम्प, आँधी, तुफान, चट्याङ, स्वास्थ्यको प्रकोपजस्ता विपद् पर्दछन् भने मानवीय कारणबाट हुने विपद्‍मा आगलागी, कमजोर संरचनाको निर्माण, दुर्घटना, वातावरणको विनाशबाट जोखिम भएको हुन्छ ।

मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा नेपाली सेनाले कृत्रिम घटनाको अभ्यास प्रदर्शन गरेको छ ।

बाढी, पहिरो, डुबान र आगलागीबाट प्रभावितहरूको स्थिति हेरी नागरिकको उद्वार घाइतेहरूलाई प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा राख्ने, अशक्त भएकालाई प्राथमिक उपचार सँगै चाँडो सुविधा सम्पन्न अस्पतालमा लानेलगायतका डेमो प्रदर्शन गरिएको थियो ।

नेपाली सेनाद्वारा विपद् व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन जिल्लामा विभिन्न समयमा हुने विपद्‍बाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप त्यससम्बन्धी कृत्रिम घटना अभ्यास गलकोट नगरपालिका वडा नम्बर ७ मा सम्पन्न भएको छ ।

नेपाली सेनाको श्री मेहरगण घोडाबाँधे बागलुङको आयोजनामा ३ दिने समुदायमा विपद् प्रतिकार्य तथा कृत्रिम घटनाको अभ्यास कार्यक्रम सम्पन्न भएको हो । गलकोट नगरपालिका वडा नम्बर ७ दरमखोलास्थित भिमसेन ढुंगा परिसरमा बाढी पहिरो, खोलामा डुबान, बस्तीमा आगलागीलगायतका विषयमा कृत्रिम अभ्यास प्रदर्शनी गरिएको थियो ।

प्रदर्शनी कार्यक्रममा कृत्रिम घटना अभ्यासका लागि एम्बुलेन्स, ड्रोन क्यामेरा, रबर बोट, मोटर वोट, लाइफ ज्याकेट, विभिन्न औजार तथा उपकरण सहित बन्दोबस्तीका सामग्रीहरु नेपाली सेनाले प्रयोग गरेको थियो । जिल्लाका १० वटै स्थानीय तहको समन्वयमा, विपत् व्यवस्थापन सम्पर्क व्यक्तिहरूको सहभागितामा नेपाली सेनाको घोडाबाँधेस्थित श्री मेहरगणले उक्त प्रदर्शनी आज एक कार्यक्रमका बीच सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रममा बोल्दै नेपाली सेना पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी दीपक कुमार बानियाँले बागलुङ जिल्ला विपद्‍मा जोखिमयुक्त जिल्ला भएकोले यो कार्यक्रमको आयोजना गरिएको बताए । बाँनियाले समाजमा हुने हरेक प्रकारका विपत्मा नेपाली सेना, नेपाल प्रहरी, सरकार, नागरिक र विपत्प्रतिकार्य तालिम प्राप्त नागरिकको सहकार्य हुनुपर्ने उल्लेख गरे ।

सो अवसरमा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रिनाथ अधिकारी, गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, सहभागी प्रशिक्षार्थी नवराज पौडेलले मन्तव्य राखेका थिए ।

वैशाख १५ र १६ गते नेपाली सेनाले जिल्लाका १० वटा स्थानीय तहका ३१ जना नागरिकलाई विपद्‍मा कसरी उद्दार गर्ने लगायतका विषयमा तालिम प्रदान गरेको थियो । त्यस्तै कार्यक्रम सफल पार्न सहयोग गर्ने जनप्रतिनिधी, संघसंस्था र व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...