एजेन्सी, २१ चैत । स्टोर्मी ड्यान्यल्स नामक एक पोर्न स्टारलाई ठुलो रकम दिएको विषयमा गरिएको अनुसन्धानपछि लगाइएको अभियोगका कारण डोनाल्ड ट्रम्प मंगलबार पक्राउ पर्ने सम्भावना छ । ट्रम्पले आफ्ना निजी वकिलमार्फत् ड्यान्सल्सलाई एक लाख ३० हजार डलर पठाएको आरोप छ ।
पक्राउ पर्नु र अदालतमा उपस्थित हुनु एक दिनअघि ७६ वर्षीय पूर्वराष्ट्रपति ट्रम्प सोमबार फ्लोरिडाबाट न्युयोर्क पुगेका छन् । फौजदारी अपराधमा मुद्दा खेप्ने उनी पहिलो (पूर्व) अमेरिकी राष्ट्रपति हुन् । तर, उनीविरूद्ध कस्तो अभियोग लगाइएको छ त्यो स्पष्ट हुन बाँकी छन् ।
ट्रम्का वकिलहरूका अनुसार उनले आफू दोषी नरहेको दाबी गर्ने बताइसकेका छन् । यस विषयसँग सम्बन्धित केही महत्वपूर्ण पक्षबारे यहाँ चर्चा गरिएको छ ।
डोनाल्ड ट्रम्पलाई कस्तो आरोप ?
सन् २०१६ मा वयस्क चलचित्रकी अभिनेत्री स्टोर्मी ड्यान्यल्सले १० वर्षअघि ट्रम्पसँग आफ्नो ‘व्यभिचारपूर्ण सम्बन्ध’ रहेको दाबी गर्दै सञ्चारसंस्थाहरूलाई सम्पर्क गरेकी थिइन् । उनी आफ्नो कथा बेच्न चाहन्थिन् ।
ट्रम्को टोलीले त्यसबारे सुइँको पायो र उनका वकिल माइकल कोहेनले ड्यान्यल्सलाई मुख नखोल्ने सर्तमा १ लाख ३० हजार डलर भुक्तानी गरे । त्यसो गर्नु अवैध हैन । तर, ट्रम्पले कोहेनलाई रकम सोधभर्ना गर्दा कानुनी शुल्क भन्ने अभिलेख राखियो । अभियोजनकर्ताहरूका अनुसार त्यसो गर्नु भनेको झुटो व्यापारिक अभिलेख राख्नु हो जुन न्युयोर्कमा ‘मिस्डिमीनर’ (अपराध) हो ।
अभियोजनकर्ताहरूले ट्रम्पले त्यतिबेला निर्वाचन कानुन उल्लंघन गरेको आरोप पनि लगाउन सक्छन् । किनभने ड्यान्यल्सलाई दिइएको भुक्तानी लुकाउन खोज्नुको उद्देश्य राष्ट्रपति निर्वाचनका लागि बेला मतदाताहरूले आफ्नो र ड्यान्यल्सबीच सम्बन्ध थियो भन्ने कुराको भेउ नपाउन् भन्ने पनि हुनसक्छ । झुटो अभिलेख देखाएर अपराध ढाकछोप गर्नु ‘फेलनी’ अर्थात् अझ गम्भीर अपराध हो ।
जे भए पनि यो त्यति स्पष्ट विषय भने हैन । त्यस्तो मुद्दाका लागि धेरै नजिर पनि छैन । निर्वाचन अभियानका लागि बनाइएको कोष र निजी खर्चको सीमा नाघेको आरोपमा नेताहरूलाई मुद्दा लगाउन खोजिएको प्रयासहरू पहिला पनि विफल भएका थिए ।
ट्रम्पलाई अब के हुन्छ ?
न्युयोर्क सिटीका सरकारी वकिल एल्भिन र्ब्यागले ट्रम्पलाई अभियोग लगाउन मिल्नेगरी पर्याप्त प्रमाण छ कि छैन भनेर अनुसन्धान गर्न ‘ग्य्रान्ड जुरी’ गठन गरे । ग्य्रान्ड जुरीले गत साता मुद्दा अगाडि बढाउने निर्णय गर्यो ।
न्युायोर्क सिटी अदालतका एक प्रवक्ताका अनुसार स्थानीय समयानुसार मंगलबार दिउँसो २ बजे ट्रम्पविरूद्ध विधिवत् अभियोग लगाइने छ । उनलाई आधिकारिक रूपमा अभियोग लगाइएको दस्तावेज सार्वजनिक गर्नुअघि एक न्यायाधीशले ट्रम्पविरूद्ध लागेको अभियोगहरू पढेर सुनाउने छन् ।
ट्रम्प सोमबार फ्लोरिडाको वेस्ट पाम बीचस्थित आफ्नो घरबाट न्युयोर्क गए । सोमबार राति उनी न्युयोर्क सिटीस्थित ट्रम्प टावरमा बस्ने छन् ।
राष्ट्रपति तथा पूर्वराष्ट्रपतिका सुरक्षामा खटिने सिक्रट सर्भिसका एजेन्टहरूको एउटा टोली र ठुलो संख्यामा सुरक्षाकर्मीहरूको उपस्थितिमा ट्रम्पले मंगलबार म्यान्हटनस्थित अदालतमा आत्मसमर्पण गर्ने छन् ।
संघीय जाँच ब्युरो एफबिआई, न्युयोर्क सिटीको कानुन कार्यान्वयन गराउने निकाय र अमेरिकाको सिक्रट सर्भिसले उक्त प्रक्रियाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाएका छन् ।
पक्राउ परेपछि ट्रम्पले के गर्नुपर्छ ?
ट्रम्पलाई आवश्यक सहयोग गरिरहेका उनका कानुनविद्हरूको टोलीका अनुसार ट्रम्पलाई हतकडी लगाइने छैन र अदालतले उनलाई छुट्टै बाटोबाट अदालतमा प्रवेश गर्न अनुमति दिन सक्छ । सामान्यतया प्रहरी हिरासतमा भएका व्यक्तिलाई अदालतमा लैजाँदा सञ्चारकर्मीहरूको पनि उपस्थिति हुने गर्छ । त्यसलाई ‘पर्प वाक’ भनिन्छ ।
यद्यपि, अदालतमा प्रवेश गरिसकेपछि फौजदारी मुद्दा खेप्ने अरू व्यक्तिहरूले जस्तौ प्रहरीको अभिलेखका लागि औँठाछाप र ‘मगसट’ (अनुहार मात्र देखिने तस्बिर’ खिचिने छ ।
वकिल राख्न पाउने र प्रहरीलाई बयान दिन अस्वीकार गर्न सकिने संविधानप्रदत्त ‘मिरान्डा’ अधिकार पनि उनलाई पढेर सुनाइने छ । मुद्दा चलाउने पूरै प्रक्रियामा उनलाई सिक्रट सर्भिसका एजेन्टहरू हुने छन् ।
त्यसपछि न्यायाधीशसमक्ष पेस गर्नुअघि ट्रम्पलाई कुनै होल्डिङ एरिया वा कक्षमा लगेर राखिने छ । न्यायाधीशसमक्ष प्रतिवादीले आफ्नो दलिल पेस गर्न पाउने अभियोजनको चरण भने सर्वसाधारणका लागि पनि खुला हुन्छ ।
केही सञ्चारमाध्यमले त्यसबेला अदालतमा क्यामरा लैजान पाइयोस् भनेर निवेदन दिएका छन् ।
ट्रम्पको मुद्दामा सुनुवाइ कहिले हुन्छ ?
ट्रम्पविरूद्ध मुद्दाको सुनुवाइ कहिले हुन्छ भन्ने स्पष्ट छैन । मुद्दा दर्ता भइसकेपछि तथा न्यायाधीश छानिइसकेपछि सुनुवाइको समयसहित अरू विवरणहरू थाहा हुन सक्छ ।
ट्रम्प धरौटीमा छुट्ने र फ्लोरिडा फर्किने ठानिएको छ । ‘मिस्डिमीनर’ गरेको ठहर हुँदा जरिबाना हुन्छ । यदि ट्रम्पले ‘फेलनी’ गरेको ठहर भए उनलाई अधिकतम ४ वर्ष जेल सजाय हुन सक्छ । तर, केही कानुनविद्हरूले ट्रम्पलाई जरिबाना हुने सम्भावना बढी भएको र उनले जेल बस्नुपर्ने सम्भावना नभएको बताएका छन् ।
के ट्रम्प फेरि राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न पाउँछन् ?
मुद्दा लाग्दैमा वा फौजदारी अपराध गरेको ठहर हुँदैमा ट्रम्प फेरि राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने बाटो छेकिँदैन । उनले अहिले जे भए पनि आफू आगामी निर्वाचनमा उठ्ने बताउँदै आएका छन् ।
अमेरिकाको कानुनमा कुनै अपराधमा दोषी ठहर भएको व्यक्तिलाई जेल परेको भए पनि निर्वाचन अभियानमा सहभागी हुन र राष्ट्रपतिको भूमिका निर्वाह गर्न रोक्ने कुनै प्रावधान छैन ।
ट्रम्प पक्राउ पर्दा उनको निर्वाचन अभियानमा केही जटिलता भने अवश्य उत्पन्न हुन्छ । समस्यामा परेका आफ्ना नेतालाई केही रिपब्लिकन मतदाताहरूले समर्थन गरिराख्ने भए पनि मत माग्दा बहसहरूमा सहभागी हुँदा उम्मेदवारको ध्यान अन्यत्र मोडिन सक्छ ।
यसबाट अमेरिकी राजनीतिक प्रणालीमा विद्यमान विभाजन अझ चर्किन सक्छ ।
परम्परावादीहरू पूर्वराष्ट्रपति ट्रम्पलाई न्यायको छुट्टै मापदण्डअनुसार मुद्दा चलाउन लागिएको ठान्छन् भने उदारवादीहरू यो मुद्दाले कानुन मिच्ने व्यक्तिलाई ऊ जति नै ठुलो पदमा भए पनि उत्तरदायी बनाउनुपर्छ भन्ने देखाएको धारणा राख्छन् । बिबिसीबाट