त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी चालकको हड्ताल

46

काठमाडौँ, २१ चैत । पार्किङ शुल्क महँगो भएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सेवा दिँदै आएका ट्याक्सी चालकहरू आन्दोलित भएका छन् । विमानस्थल क्षेत्रमा सेवा बन्द गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

चालकहरूको हड्तालका कारण विमानस्थलबाट सेवा बन्द भएको छ । विमानस्थल बाहिर भने ट्याक्सीहरू चलेका छन् । विमानस्थलको पार्किङ क्षेत्रमा एक्कासी अत्याधिक शुल्क तोकिएको बढाइएको भन्दै चालकहरूले विरोध जनाएका हुन् ।

यसअघि प्रतिघन्ट २० रूपैयाँ शुल्क तोकिएकोमा अहिले ८० रूपैयाँ पुर्‍याइएको चालकहरूको भनाइ छ । ८० बाट १०० रूपैयाँ पुर्‍याउने धम्की दिइएको उनीहरूले जनाएका छन् । चर्को पार्किङ शुल्कविरूद्ध उनीहरूले गत मंसिर १३ गते विमानस्थलको गेट अगाडि विरोध प्रदर्शन गरेका थिए ।

विमानस्थलको जग्गा भाडामा लिएको आइएमएस एयरपोर्ट सर्भिस नामक कम्पनीले पार्किङ शुल्कवापत चर्को मूल्य असुल्दै आएको चालकहरूको भनाइ छ ।

महँगो शुल्कको विषयमा नागरिक उड्डयन प्राधिकरणसम्म गुनासो गर्दा पनि सुनुवाइ नभएको र जग्गा भाडामा लिएको कम्पनीले उल्टै धम्क्याउने गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको बागमती प्रदेश अध्यक्ष शंकर थापाले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...