हत्या अभियोगमा साउदीमा अलपत्र ५ नेपाली स्वदेश फिर्ता

45

काठमाडौँ, १९ चैत । वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेर हत्या अभियोगमा अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन् ।

साउदीको अल अन्सारी प्लाजा नामक कम्पनीमा कार्यरत उनीहरू लामो समयदेखि एक भारतीय नागरिकसँगै रूममा बसेका थिए । तर, भारतीय नागरिकको २०१८ नोभेम्बरका दिन शंकास्पद मृत्यु भएलगत्तै उनीहरूलाई कानुनी रूपमा सोधपुछ गरी शंकास्पद हत्या भएको र अन्य कुनै संदिग्ध अपराधी फेला नपरेको कारण उक्त हत्या अभियोगमा ४ वर्ष जेल सजाय भएको थियो ।

पीडित नेपालीले आफू निर्दोष रहेको र उद्धार गरिदिन नेपाली राजदूतावास र एनआरएनलाई आग्रह गरेका थिए । नेपाली दूतावासको निरन्तर प्रयासपछि साउदी अदालतले ३ अगस्ट २०२२ का दिन निर्दोष सावित गरी जेलमुक्त गर्न आदेश दिएको थियो । त्यसपश्चात उनीहरूलाई मध्यपूर्व संयोजक राजेन्द्र अर्याल तथा हेल्प मधेसीको सहयोगमा खान बस्नसहित एनआरएनको अस्थायी शिविरमा राखिएको थियो ।

पीडित नेपालीलाई स्वदेश फिर्ताका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी बहिर्गमन भिसा उपलब्ध गराइएको थियो । हत्या अभियोगमा इन्द्रजित मन्डल (महोत्तरी), बासुदेव ठाकुर (सिरहा), धनबहादुर तामाङ (इलाम), कृष्ण बहादुर घन्सी (भक्तपुर) र रामप्रसाद ठाकुर (धनुषा) रहेका छन् । १ अप्रिल २०२३ का दिन उनीहरू स्वदेश फिर्ता भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...