चन्द्रौटा, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १० दलीय गठबन्धनको सरकारले देश निमिट्यान्न पार्ने गरी काम गरिरहेको अरोप लगाएका छन् । शनिबार बुङ्चीमा आयोजित जिल्लास्तरीय प्रशिक्षणमा उनले यस्तो बताएका हुन् ।
“पुतलीको एउटा चरण हुन्छ, लार्भा त्यसपछि झुसीलकिरा । त्यसले त रूखका पात मात्र निमिट्यान्न पार्छ । दशतिर फर्किएका गठबन्धनका १० वटा मुख छन् । त्यसैले यीनीहरूले त देश नै निमिट्यान्न पार्न उद्यत छन्,” उनले भने ।
आफू प्रधानमन्त्री भएका बेला असाधारण काम भएको दाबी गर्दै उनले वर्तमान सरकारले देश र जनताका लागि काम नगरिरहेको आरोप लगाए ।
“देशको बलियो शक्ति बनेको उनीहरूलाई सह्य भएन, हामी विदेशीको इशारामा नचलेको उनीहरूलाई मन परेन, हामीले विकास र समृद्धिका योजना बनाएको उनीहरूलाई पच्दै पचेन, अनि अनेकन् तकडम चालेर दशमुखे गठबन्धन बनाएका छन् । उनीहरूकै निर्वाहका लागि बनेको हो, नेपाल र नेपालीका लागि होइन,” ओलीले भने ।
अध्यक्ष ओलीले एमाले वैचारिक, संगठनात्मक, समृद्ध, सम्पन्न समाज बनाउने र देशलाई गरिबीतर्फ धकेल्नेहरूबीचको लडाइँ लडिरहेको बताए ।
ओलीले आफ्नो सरकारका पालामा हुलाकी सडक, मदन भण्डारी सडक, रेलवे, अपर तामाकोसी, मेलम्ची खानेपानी, तुइन समाप्त पार्नेजस्ता महत्वपूर्ण अभियानलाई कार्यान्वयन गर्दै देशको आर्थिक वृद्धिदर ७ प्रतिशत बढी भएको बताए ।