गण्डकी, १० चैत । नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।
माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने दुई मन्त्रीले आजै सभामुखसमक्ष राजीनामा बुझाउने उनको भनाइ छ । माओवादीबाट दलका नेता चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका थिए ।
माओवादीले समर्थन फिर्ता लिएसँगै नेकपा (एमाले) नेतृृत्व्को गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्था अनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने छ । विश्वासको मत पाउन नसके वर्तमान सरकार ढल्ने छ ।
एमालेका २२, माओवादी केन्द्रका ८ र राष्ट्रिय प्रजातन्त्रका ३ प्रदेशसभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
केन्द्रीय समीकरणमा फेरबदल भएसँगै प्रदेशमा पनि सत्ता समीकरण बदलिने अवस्था आएको माओवादी संसदीय दलका नेता चुमानले बताए । उनले अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने उल्लेख गरे ।
२७ सदस्यसहित प्रदेशसभामा सबैभन्दा ठुलो दल रहेको नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार गठनको कसरत थालेका छन् । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । कांग्रेस र माओवादी मिल्दा सरकारलाई सहज बहुमत पुग्छ ।