वैशाख दोस्रो सातासम्म प्रधानमन्त्रीको भारत भ्रमण भइसक्छ : मन्त्री शर्मा

65

काठमाडौँ, १० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन् ।

बिहीबार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीहरूसँगको भेटवार्ताका क्रममा उनले यस्तो बताएकी हुन् ।

मन्त्री शर्माले प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट नै सुरू गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन् ।

उनले इन्टरनेसनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको बताइन् । भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाकाबाहेकका अन्य नाकाहरूमा पनि सहज आदानप्रदान हुनेगरी सञ्चालनमा ल्याउन आग्रह गरेको उनले बताइन् ।

उनले भारतबाट नेपाल फोन गर्दा सहुलियत दिन र नेपालीहरूले सिम कार्ड निकाल्दा सहजता प्रदान गर्न पनि भारत सरकारसँग आग्रह गरेको बताइन् । मन्त्री शर्माले भारतमा बसेर नेपाली टेलिभिजन च्यानल हेर्न सहज बनाउनका लागि पनि भारतीय मन्त्रीहरूसँग कुरा राखेको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...