म्याग्दी, ५ चैत । ६ वर्षअघि सुरू भएको म्याग्दीको बेनी अस्पतालको भवन निर्माण कार्य अझै पूरा भएको छैन । तीन वर्षअघि निर्माण सकिनुपर्ने ५० शय्या क्षमताको अस्पतालको भवनको हाल ६० प्रतिशत मात्र भौतिक प्रगति छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले २०७३ मंसिर ११ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । २४ करोड ४ लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । हालसम्म १० करोड ९२ लाख २७ हजार ६१४ रूपैयाँ भुक्तानी भएको आयोजनाले जनाएको छ ।

२०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । ४ हजार ९६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको ४ तले तीनवटा भवन निर्माणको हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ । तीन तला ढलान र प्लास्टर भइरहेको भवनमा टायल राख्ने, रंगरोगन, विद्युत्, पानी र फर्निचर जडानलगायतका काम बाँकी छन् ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भवन निर्माणमा भएको ढिलाइका कारण सेवा प्रवाहमा समस्या भएको बताए ।