काठमाडौँ, ४ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सहमति गरेको छ ।
शनिबार बालुवाटारमा बसेको बैठकले सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति बनेको प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
यस्तै, आइतबार संसद्मा प्रस्तुत गर्ने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि एकमतका साथ प्रस्तुत हुने सहमति बनेको उनले बताएकी छन् । संसद्मा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत हुन लागेको हो ।
“बैठकमा भोलि संसद्मा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ,” उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले समर्थन गर्न लागेको हो ।