काठमाडौँ, २ चैत । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)ले जितका लागि नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको योगफल तयार पारेको थियो ।
छैटौँ विकेटका लागि आशिफ खान र आरबिन्दले १३५ रनको साझेदारी गरका थिए । युएईका आशिफ खानले कीर्तिमानी शतक प्रहार गरे । मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा रन बनाउँदै नटआउट रहे । यस्तै, अरबिन्दले ९४ रन बनाएर आउट भए ।
ओपनर आयान लाक्रा ६ रनमा आउट भए । कप्तान मोहम्मद वसिम ६३ रनमा आउट भए । ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरेको उनलाई सन्दीप लामिछानेले आउट गरे ।
नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे ।
सन् २०१९ देखि सुरू भएको आइसिसी विश्वकप लिग–२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनभित्र पर्दै जुन–जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ ।
यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामाबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।
नेपाल लिग–२ का ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ नेपाल तालिकाको चौथो स्थानमा छ । त्यस्तै, नामिबिया ३९ अंक जोड्दै तेस्रो स्थानमा छ भने ३८ अंक जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३५ खेलमा ३३ अंकका साथ छैटौँ स्थानमा छ ।
स्कटल्यान्ड ५० अंकका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अंकका साथ तालिकाको अन्तिममा छ ।