काठमाडौँ, १ चैत । नेपाली कांग्रेसले यही चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेतासमेत रहेका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई मतदान गर्ने निर्णय गरेको हो ।
प्रवक्त प्रकाशशरण महतले जसपाका तर्फबाट गठबन्धनका साझा उम्मेदवार यादवलाई मतदान गर्ने निर्णय भएको जानकारी दिए । कांग्रेसले पार्टीबाट प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा निर्वाचित भएका सदस्यहरूलाई यादवको पक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ ।
बैठकले आगामी वैशाख १० गते हुने चितवन–२ लगायतका उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारीको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत् निर्देशन गर्ने निर्णय पनि गरेको छ ।