काठमाडौँ, २९ फागुन । आगामी चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि उम्मेदवार दिएकी जनता समाजवादी पार्टी (जसपा) सांसद प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
सत्तारूढ ९ दलीय गठबन्धनको तर्फबाट साझ उम्मेदवार प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
यादवले राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक रूपले समाजको अग्रगामी रूपान्तरण र परिवर्तनको संघर्षसँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरूद्ध जनआन्दोलन, ऐतिहासिक मधेस जनविद्रोहलगायत लोकतन्त्र बहालीका लागि पटक–पटक भएका विभिन्न आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनले आफू पछि हटेको बताइन् ।
उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, “अब उपरान्त म उपराष्ट्रपति पदका लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनुभएका माननीय रामसहायप्रसाद यादवलाई आफ्नो अमूल्य मत दिइ विजयी गराउनु हुन सम्पूर्ण माननीय सांसद एवम् माननीय प्रदेशसभा सदस्यज्यूहरूसँग हार्दिक अपिल गर्दछु ।”