संघीयताविरूद्ध षड्यन्त्र भइरहेको छ : मन्त्री शर्मा

86

तनहुँ, २८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संघीयताविरूद्ध षड्यन्त्र भइरहेको बताएकी छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको शनिबार उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले संघीयता खर्चिलो, महँगो र भड्किलो भयो भन्ने आवाज सुनिनु दुःखद् भएको बताइन् । कतिपय बेला सडक, सदन कतिपय समयमा महत्वपूर्ण मानिएका व्यक्तिबाट पनि त्यस्ता भावना उद्धृत हुने गरिएको उल्लेख गर्दै उनले भनिन्, “संघीयताविरूद्ध आवाज उठाउन हुन्न, संघीयता आवश्यक छैन भन्नु गलत हो ।”

“हिजो गाविस कति थिए, पदाधिकारी कति थिए, राज्यले कतिलाई तलब खुवाउनुपर्थ्यो, कति साधनस्रोत खर्च हुन्थ्यो, आजको गाउँपालिका कत्रो छ, पदाधिकारी कति छन्, त्यो बुझ्न आवश्यक छ,” उनले भनिन्, “प्रदेश कत्रो छ, त्यसभित्र कार्यपालिका, सरकार संसद्मा नेतृत्व गर्ने व्यक्ति र केन्द्रमा नेतृत्व गर्ने कति छन्, ती सबैको हिसाबकिताब गर्ने हो भने विगतमाभन्दा बढी खर्च हुने देखिँदैन ।”

कुनै समयमा राजनीतिक अस्थिरताका कारण सरकार सानो ठुलो बन्यो होला त्यो एउटा समीक्षाको पाटो हुन सक्ने मन्त्री शर्माको भनाइ छ । उनले भनिन्, “वडामा अध्यक्षसहित ५ प्रतिनिधि रहेका छन् । खर्चका हिसाबले पनि हिजोको भन्दा बढी हुन सक्दैन । हिजोका गाविसले दिने सेवा र आजका गाउँपालिकाले जनतालाई दिने सेवा सुविधामा आकाश पातलको फरक छ ।”

स्थानीय तहको सरकार जनताको नजिकको सरकार, जनताको साथी, दुःख सुखमा साथ दिने सरकार भएकाले सहज तरिकाबाट जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा उनले जोड दिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...