काठमाडौँ, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएकी छन् ।
शुक्रबार बिहान नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष एवम् संसदीय दलको नेतासमेत रहेकी श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, कानुनी व्यवस्थाका कारण उपराष्ट्रपति बन्न उनको उमेर बाधक बनेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति बन्नका लागि ४५ वर्ष उमेर पूरा गरेको हुनुपर्ने प्रावधान छ । आयोगमा उनले पेस गरेको विवरणमा उनको उमेर ३९ वर्ष मात्र भएकाले उनी उम्मेदवार बन्न नसक्ने भएकी हुन् ।
निर्वाचनसम्बन्धी ऐनको दफा ११ मा उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान रहेको छ । उक्त दफाको उपदफा ‘ख’मा ‘कम्तीमा ४५ वर्ष उमेर पूरा भएको’ हुनुपर्ने उल्लेख छ ।