समाजवादको लक्ष्य प्राप्त गर्न एमालेको मिसन ग्रासरुट : नेता विश्वकर्मा

57
  • रोहन जिसी

बागलुङ, २५ फागुन । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री जगत विश्वकर्माले मुलुकमा समाजवाद निर्माणको आधार तयार गर्नका लागि आफ्नो पार्टीले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको बताएका छन् ।

एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको बुधबार काठेखोलामा शुभारम्भ गर्दै नेता विश्वकर्माले एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान समाजवादको आधार तयार गर्नका लागि भएको बताएका हुन् ।

“यो अभियानले एमाले पार्टीमा भएका कमजोरी सुधार गरेर बलियो पार्टी बनाउछौँ, लोकतन्त्रलाई सबल बनाउन, संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि बलियो राजनीतिक शक्ति आवश्यक छ,” नेता विश्वकर्माले भने, “एमालेले सञ्चालन गरेको यो अभियानले एमाले पार्टीलाई मुलुकको बलियो र राष्ट्रियताको संरक्षणकर्ता तथा आर्थिक समृद्धिका लागि सामर्थ्यवान पार्टी बनाउँछ ।”

‘कम्युनिस्ट पार्टी स्थापनाको मुख्य लक्ष्य समाजवाद निर्माणको अभियान सफल बनेको छैन, यो अभियान सफल बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ र त्यो एमालेबाट मात्रै सम्भव छ’ भन्दै नेता विश्वकर्माले यो मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणको नेतृत्व एमालेले मात्रै गर्न सक्ने दाबी गरे ।

यतिबेला एमालेले सिंगो पार्टी पंक्ति परिचालन हुने गरी मिसन ग्रासरुट अभियान सञ्चालन गरेको छ, यो अभियानले पार्टीलाई एकतावद्ध बनाउने, कमजोरीहरु सुधार गरेर संस्थागत रुपमा सञ्चालन हुन सहयोग गर्नुका साथै आम जनताका बीचमा पार्टीप्रतिको बुझाईलाई समेत सच्याउने अपेक्षा लिइएको विश्कर्माको भनाइ छ ।

यो अभियानमा पार्टीका केन्द्रीय सदस्यहरुलाई पालिका र प्रदेश तथा जिल्लाका नेताहरुलाई पालिका तथा वडामा जिम्मेवारी दिइएको छ । आफ्नो मतदाता रहेको भुगोलभन्दा फरक भुगोलमा बसेर पार्टीको समग्र अवस्थालाई अध्ययन गर्नुका साथै पार्टीको नया अभियानलाई प्रभावकारी बनाउन एमाले केन्द्रीय सचिवालयले निर्देशन दिएको छ । एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री जगत विश्वकर्मालाई पार्टीले काठेखोला र बागलुङ नगरपालिकाको जिम्मेवारी दिएको छ ।

काठेखोलाको मिसन ग्रासरुट अभियान शुभारम्भ कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष हिरा बहादुर केसी, प्रदेश कमिटि सचिवालय सदस्य गीता शर्मा र डिल्लीराज गौतम लगायतले अभियानको उद्देश्य लगायतका विषयमा जानकारी गराएका थिए ।

मिसन ग्रासरुट अभियानअन्तर्गत काठेखोलामा फागुन २८ देखि चैत ९ गतेसम्म सबै वडाका बैठक सम्पन्न गर्ने र बैठकले थप योजना बनाएर अभियानलाई सफल पारिने अध्यक्ष डिल बहादुर कार्कीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...