बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन मज्जाले पाइन्छ : बाबुराम भट्टराई

92

काठमाडौँ, २२ फागुन । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शान्ति सम्झौताअनुसार जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न नहुने बताएका छन् । त्यस्ता मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी)ले हेर्नुपर्ने उनको मत छ ।

आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् ट्विट गर्दै डा.भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन पाइने तर शान्ति सम्झौताअनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले मात्र हेर्नुपर्ने बताएका हुन् ।

“सानो स्पष्टीकरण– बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन । मज्जाले पाइन्छ । म आफैँ प्रम छँदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजिर भएको छु,” उनले भनेका छन्, “तर, शान्ति सम्झौताअनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन । प्रम प्रचण्डको हकमा पनि त्यही हो । आवेग हैन विवेकले काम गरौँ ।”

२०७६ माघ १ गते माघी पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को सार्वजनिक अभिव्यक्तिपछि उनीविरूद्ध अदालतमा मुद्दा दर्ताको प्रक्रिया चलिरहेको छ । तत्कालीन माओवादी नेता कार्यकर्ताहरूले यसप्रति चर्को विरोध गरिरहेका छन् । अदालतले भने द्वन्द्व पीडितहरूको मुद्दालाई लामो समयसम्म अल्झाएर राख्न नमिल्ने बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...