मदन भण्डारी हत्याको छानबिन गर्न माग गर्दा २१ जनालाई मारियो : ओली

84

काठमाडौँ, २१ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन गर्न माग गर्दा २१ जना मानिसको हत्या भएको बताएका छन् ।

सुखानीको बलिदानको स्मृतिमा आयोजित ५०औँ सहिद दिवसका अवसरमा एमालेले आइतबार गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले २०४६ को परिवर्तनपछि समेत मानिसहरू मार्ने क्रम नरोकिएको बताए ।

ओलीले भने, “मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो । त्यस प्रसंगमा हामीले छानबिन होस् भनेर माग गर्‍यौँ । त्यो माग गर्दागर्दै २१ जनालाई गोली हानेर हत्या गरियो । छानबिन आयोग बनाएर छानबिन गरिदेउ भन्दाखेरि २१ जनाको हत्या भयो । थुप्रै ठाउँमा देशभरि हत्या भयो । झापामा डिल्ली गौतमको हत्या भयो । त्यसभन्दा अघि २०३७ साल फागुन १२ गते सिन्धुलीमा ऋषि देवकोटाको हत्या भयो । अरू गोप्य ढंगले अनेक । यसपछि हत्यापछि हत्या भयो ।”

पहिला एकदुई जनाको हत्या हुँदासमेत हल्ला भएपनि बहुदल आएपछि कांग्रेसले मान्छे मार्दा डेमोक्रेसी भएको उनको भनाइ छ । “कांग्रेसले डेमोक्रेसीको रक्षाका लागि भन्दै मान्छे मार्न थाल्यो । शान्तिपूर्ण जुलुस पनि हुन नहुने । जनताको जीवनको कुनै मूल्य र अर्थ छैन भन्ने हिसावले,” उनले भने ।

उनले सशस्त्र जनयुद्धमा पनि धेरै मानिस मारिएको भन्दै २०६३ सालमा बृहत् शन्ति सम्झौतापछि राजतन्त्र हटेको बताए । उनले जनयुद्धका नाममा १७ हजार मानिस मारिएकोमा आपत्ति जनाए । उनले यस्तो शिलशिलाको अत्य हुनुपर्ने भन्दै कसैको स्वार्थका लागि अर्काको जिन्दगी जाने स्थिति हुन नहुने बताए ।

तत्कालीन पञ्चायती सरकारले २०२९ साल फागुन २१ मा वामपन्थी आन्दोलनमा सहभागी ५ नेताहरूलाई जेलबाट निकालेर झापाको सुखानी जंगलमा लगेर हत्या गरेको थियो । उक्त घटना नेपाली राजनीतिमा सुखानी हत्या काण्डले चिनिन्छ ।

सुखानीमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी, कृष्ण कुइकेल र नारायण राजवंशीको हत्या भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...