काठमाडौँ, २० फागनु । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले क्षुद्र स्वार्थमा अल्झिएका तथा सामाजिक रूपान्तरण र परिवर्तनका विरोधी शक्तिहरूले सत्ता कब्जा गर्न सफल भएको बताएका छन् ।
भक्तपुरमा पार्टीनिकट बुद्धिजीवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशका लागि एमालेले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भएको भन्द्र क्षुद्र स्वार्थमा अल्झिएकाहरूले नै सत्ता कब्जा गरेको बताएका हुन् ।
देशको अहितमा जनविरोधी र राष्ट्रघाती तत्वहरूको चर्को आवाज आउन थालेकाले त्यसबाट जनतालाई मुक्त गर्न सक्नुपर्ने बताए ।
“दुर्भाग्यको कुरा देशका लागि एमालेजस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार हुन खोज्छ । किनभने सामाजिक रूपान्तरण परिवर्तनका विरोधी शक्तिहरू आफ्ना क्षुद्र स्वार्थमा अल्झिएका शक्तिहरू सत्ता कब्जा गर्न सफल छन् अहिले पनि,” उनले भने ।
अध्यक्ष ओलीले उनीहरू नै जनता अलमल्याउन र चटके कुरा गर्न सफल भएको भन्दै बौद्धिक जगत्ले दिग्भ्रमित पार्ने शक्तिहरूबाट जनतालाई मुक्त गर्न बिगुल फुक्ने काम गर्नुपर्ने बताए । इतिहास निर्माणका प्रेरक शक्ति हिजो, आज र भोलि पनि जनता नै भएको भन्दै जनतालाई सही मार्गदर्शन गर्न सक्नु अहिलेको चुनौती रहेको ओलीको भनाइ छ ।
“जनतालाई दिग्भ्रमित पार्न विरोधीहरू लागिपरेका छन् । उनीहरूलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो । जनतालाई तर्साउने, धम्क्याउने कामहरू भइरहेका छन्, सचेतना जगाउनुस्,” उनले भने ।