टर्‍यो सम्भावित विमान दुर्घटना

70

काठमाडौँ, १७ फागुन । अवतरणका लागि पालो पर्खिरहेका तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिएका छन् ।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो पर्खिरहेका तीनवटा जहाज एक हजार फिटको समान दुरीको अन्तरमा थिए । सिमरामा रहेको ‘गुराँस होल्डिङ प्वाइन्ट’मा होल्डिङमा रहेका बुद्ध एयरलाइन्स, नेपाल वायुसेवा निगम र कतार एयरवेजको जहाज जमिनबाट ११ हजार पाँच सय फिटदेखि १३ हजार ५०० फिटको उचाइमा एक हजार फिटको दुरी (भर्टिकल सेप्रेसन) कायम गरी अवतरणको पालो कुरिरहेका थिए।

होल्डमा रहेका जहाजमध्ये बुद्ध एयरको जहाज ११ हजार ५०० फिटमा, नेपाल वायुसेवा निगमको जहाज १२ हजार ५०० फिटमा र कतार एयरवेजको जहाज १३ हजार ५०० फिटमा रहेका थिए । पहिलो अवतरण गर्ने पालो बुद्व एयरको थियो । विमानस्थलमा रहेका एटिसी (एयर ट्राफिक कन्ट्रोलर)ले अवतरणको अनुमति कसैलाई दिएको थिएन ।

अवतरण अनुमतिको पर्खाइमा रहेकै बेला कतार एयरवेजको जहाजले निगमसँगको दुरी एक हजार फिटबाट २०० फिटनजिक बनाएपछि दुर्घटनाको सम्भावना बढ्न पुगेको थियो । अनुमति र बिनाकुनै जानकारी एक्कासी कतार एयरवेजको जहाज १२ हजार ८०० फिटमा आएपछि निगमको ट्राफिक कोलिजन एभोडेन्स सिस्टम (टिकास)मा अलर्ट आएको र निगमका पाइलटले एटिसीलाई रिपोर्ट गरेपछि कतारले जहाज थप उचाइमा लगेको थियो ।

त्यतिन्जेल बुद्धले अवतरण गरिसकेकाले जहाजको उचाइ दुरी सन्तुलन गर्न सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार के कति कारणले कतारको पाइलटले जहाज तल ल्याए भन्नेबारे अनुसन्धान भइरहेको बताए । गोरखापत्र दैनिकबाट

Share This:
सम्बन्धित खबर
Loading...