पल शाह कारागारमुक्त

49

दमौली, १५ फागुन । जबरजस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाह आज कारागारमुक्त भएका छन् ।

जबरजस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेपछि फागुन १५ गते आफैँ प्रहरीसमक्ष उपस्थित भएका नायक शाह आज अदालतको फैसलाबमोजिम रिहा भएका हुन् ।

नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा साढे दुई वर्ष कैद र १० लाख जरिबानाको सुनाएकामा उच्च अदालतको आइतबारको फैसलाबमोजिम शाहले सफाइ पाएको उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए ।

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासको नायक शाहलाई सफाइ दिएको हो । नवलपुर अदालतको फैसलाविरूद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दाको अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाहलाई कारागारमुक्त गरिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । रिहा गर्नु अगाडि शाहको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । शाह रिहा हुने खबर पाएलगत्तै कारागार अगाडि बिहानैदेखि शुभेच्छुकको भीड रहेको थियो ।

नाबालिक जबरजस्ती करणीको अभियोगमा कारागारमा थुनामा रहेका नायक शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...