स्कटल्यान्डले नेपाललाई दियो २१३ रनको चुनौती

73

काठमाडौँ, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आज अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितको लागि २१३ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रनको योगफल बनायो ।

स्कटल्यान्डका लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा नौ चौका र दुई छक्काको मद्धतमा ६० रनको योगदान गरे । त्यस्तै, म्याथ्यु क्रसले ४२ रन, ब्रेन्डन म्याकुलमले ३१ रन बनाउँदा काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले समान २२÷२२ रन जोडे । मार्क वाट्ले ८ रन बनाए भने शफ्यान शरिफले अविजित ८ रन जोडे । क्रिस ग्रेभ्ब्सले ७ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए भने करण केसीले तीन विकेट झारे । त्यसैगरी ललित राजबंशी र कुशल मल्लले समान एक–एक विकेट हात पारे । यस सिरिजमा नेपाल लगातार चौथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेलमा नेपालले विजय हासिल गरेको थियो । नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो ।

नेपालले नामिबियाविरुद्ध पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा तीन विकेटको जित हासिल गरेको थियो । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौँ स्थानमा छ । त्यस्तै, स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र नौ मा हारसहित ५० अंका साथ शीर्षस्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...