स्कटल्यान्डमाथि नेपालको सानदार जित

आइसिसी विश्वकप लिग–२

91

काठमाडौँ, ५ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो । स्कटल्यान्डले दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८५ रनको योगदान दिए । उनले एक सय १६ बल खेल्दै आठ चौका र एक छक्काको मद्धतमा अविजित ८५ रनको योगदान दिए । त्यसैगरी कुशल मल्लले ८१ रनको योगदान दिए । उनले ६७ बल खेल्दै नौ चौका र चार छक्का प्रहार गर्दै ८१ रन बनाउन सफल भएका हुन् ।

यसैगरी सोमपाल कामीले अविजित २४ रन बनाए भने गुल्सन झाले १७ रन बनाए । कुशल भुर्तेलले १६ रन जोडे । आशिफ शेखले नौ, कप्तान रोहित पौडेलले छ, सन्दीप जोराले पाँच तथा ज्ञानेन्द्र मल्लले चार रन बनाए ।

बलिङतर्फ स्कटल्यान्डका मार्क वाट र क्रिस सोलेले समान तीन–तीन विकेट लिए भने माइकल लिस्कले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले व्याटिङको गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल बनाएको थियो । स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक एक सय सात रनको योगदान दिएका थिए । उनले ८५ बल खेल्दै नौ छक्का र तीन चौकाको मद्धतमा अविजित एक सय सात रनको योगदान दिएका हुन् ।

त्यस्तै, ज्याक जार्विसले २६ रनको योगदान दिए भने क्रिसटोफर म्याकब्राइडले २२ रन जोडे । यसैगरी मार्क वाटले २० रन जोड्दा कप्तान रिचार्ड बेरिङटन र टम म्याकिन्टसले समान १९–१९ रन जोडे । क्रिस ग्रेप्सले १६ रन बनाउँदा म्याथ्यु क्रसले दुई रन मात्र बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट झारे भने कुशल मल्लले दुई विकेट लिए । त्यस्तै, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक–एक विकेट लिएका थिए ।

नेपालले अब भोलि शनिबार नामिबियासँग खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...