नेपाल र स्कटल्यान्ड भिड्दै

56

काठमाडौँ, ५ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा घरेलु टोली नेपालले स्कटल्यान्डलाई पराजित गर्ने सोचका साथ मैदानमा उत्रनेछ । यसो त आइसिसी क्रिकेट विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्यान्डलाई हराउन नेपाललाई त्यति सहज भने छैन ।

त्रिवि मैदानमा बुधबार भएको खेलमा स्कटल्यान्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग २ को विजेता बनेको थियो । स्कटल्यान्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो ।

यसअघि यही फागुन २ गते भएको नामिबियाविरूद्धको पहिलो खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो । यसकारण पनि स्कटल्यान्डलाई पराजित गर्ने नेपालको लक्ष्य रहेको छ ।

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा नेपालले पहिलो पटक नामिबियालाई हराएको थियो । नेपालले नामिबियालाई दुई विकेटले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।

लिग २ को शीर्ष स्थानमा रहेको स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ खेलमा हार ब्यहोरेको छ । स्कटल्यान्ड ४८ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्डले अब नेपालसँग २ र नामिबियासँग एक गरी कुल ३ खेल खेल्न बाँकी छ । बाँकी सबै खेलमा पराजित भए पनि स्कटल्यान्ड शीर्ष स्थानमा रहने छ । उसलाई अब कुनै पनि टोलीले पछि पार्न सक्दैनन् ।

त्यस्तै, लिग–२ मा नेपालले अब ११ खेल खेल्न बाँकी छ । २५ खेलमा ९ मा जित र १४ खेलमा हार ब्यहोरेको नेपाल २० अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ । एकदिवसीय मान्यता पाएका विभिन्न ७ एसोसिएट राष्ट्र सहभागी लिग–२ मा एउटा टोलीले ३६ खेल खेल्नेछन् । नेपाललाई एकदिवसीय मान्यता जोगाइराख्न अबका बाँकी खेल जित्नैपर्ने दबाब छ ।

नेपालले सन् २०१८ को मार्चमा भएको एकदिवसीय विश्वकप छनोट प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गरी पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रि मान्यता पाएको थियो । नेपालको त्यो एकदिवसीय मान्यता आगामी जुलाइस्म्म मात्र रहने छ । एकदिवसीय मान्यता पाउनलाई पनि नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग–२ मा नेपाल शीर्ष पाँचभित्र अटाउनु पर्ने छ ।

यसैगरी, लिग–२ मा ओमान ३६ खेलमा २१ जित र १३ हारसहित ४४ अंकसाथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ जित र १३ हारका साथ ३७ अंकसहित तेस्रो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ जित र १७ हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ जित र ११ हारसहित २७ अंक जोड्दै पाँचौँ स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ जित र २५ हारसहित ५ अंक जोड्दै अन्तिम स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...