सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा भारतसँग नेपालको बराबरी

76

काठमाडौँ, ४ फागुन । फरवार्ड सावित्रा भण्डारीले २ मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतविरूद्ध रोमाञ्चक बराबरी खेलेको छ ।

चेन्नइको जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली भारतलाई २–२ को बराबरीमा रोकेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भयो ।

पहिलो हाफमा नेपालले गोल गर्ने थुप्रै अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । दोस्रो हाफमा भारतले तीन खेलाडी परिवर्तन गर्दै नेपाललाई दबाबमा राख्यो । त्यसपछि १२ मिनेटको अन्तरमा दुई गोल गरेको भारत सहज जिततर्फ उन्मुख थियो । तर, भण्डारीले २ मिनेटको अन्तरमा २ गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन् ।

खेलको ५६औँ मिनेटमा मनिसाको क्रममा सौमा गोगुलोसको गोलमा भारतले सुरूवाती अग्रता बनाएको थियो । ६८औँ मिनेटमा भारतले अग्रता दोब्बर पार्‍यो । भारतीय कप्तान इन्दुमतीको गोलमा भारतले नेपालविरूद्ध २–० को अग्रता लियो ।

८८औँ मिनेटमा नेपालले खेलमा फर्कने अवसर पायो । स्विटी देवीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपाले पेनाल्टी पाएको थियो । भण्डारीले पेनाल्टीमा सहजै गोल गर्दै स्कोर २–१ को स्थितिमा ल्याइन् । लगत्तै भारतीय डिफेन्सको कमजोरीको भरपुर फाइदा उठाउँदै भण्डारीले वन भर्सेस वनमा सुन्दर गोल गरिन् ।

नेपालले अब दोस्रो मैत्रीपूर्ण खेल शनिबार खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...