एजेन्सी, ३ फागुन । तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले शुक्रबार हड्तालको घोषणा गरेका छन् । यहाँको व्यस्त र्फ्याङ्कफर्ट र म्युनिख विमास्थलसहित सात वटा विमानस्थल उनीहरूले हड्ताल आह्वान गरेका छन् ।
हड्तालका कारण दशौँ हजार यात्री प्रभावित हुने निश्चित छ भने आन्तरिक उडान पनि रद्द हुने वा विलम्ब हुने छ । विमान व्यवस्थापनलाई दबाब दिन गरिएको उक्त घोषणाप्रति सम्बन्धित पक्षले कुनै प्रतिक्रिया दिएको छैन । कर्मचारी युनियनका प्रतिनिधि, उड्डयन सुरक्षा कर्मचारी वार्तामा बसेका छन् ।
जारी वार्ताबाट परिणाम पनि प्राप्त भएको छैन । कर्मचारी युनियनका प्रतिनिधिले जीवनयापनको लागत बढेको तर आयमा कुनै वृद्धि नभएकाले तलब वृद्धिको माग गर्दै हड्तालमा उत्रनु परेको बताएका छन् ।
हड्तालबाट ब्रेमेन, डर्टमन्ड, फ्रान्कफर्ट, ह्याम्बर्ग, ह्यानोभर, म्युनिख र स्टटगार्ट सहरका एयरपोर्टमा असर पर्ने छ । यद्यपि, भूकम्प प्रभावित टर्की र सिरियामा सहायता पुर्याउने उडान प्रभावित नहुने कर्मचारी युनियनका एक सदस्यले बताएका छन् । उनले यात्रीलाई मजदुरका समस्या बुझ्न तथा वैकल्पिक योजना बनाउन अनुरोध गरेका छन् ।
युनियनले गत महिना बर्लिन ब्रान्डनबर्ग एयरपोर्टमा यस्तै हड्ताल गरेको थियो । त्यसबेला ३०० उडान रद्द वा पुनःतालिका गरिएको थियो ।