टर्की भूकम्पमा ४१ हजारभन्दा बढीको मृत्यु

45

एजेन्सी, ३ फागुन । टर्की र सिरियाको सीमा क्षेत्रमा गत माघ २३ गते गएको विनाशकारी भूकम्पमा परी हालसम्म ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् ।

खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्कीमा ३५ हजार ४१८ जना तथा सिरियामा पाँच हजार ८०० जनाको मृत्यु भएको छ । टर्कीमा ८ हजारभन्दा बढीलाई भग्नावशेषबाट उद्धार गरिएको छ । सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन् ।

टर्कीमा २१५ भन्दा बढी पराकम्प महसुस भएको छ । टर्कीमा ४६ लाख तथा सिरियामा २५ लाख बालबालिका भूकम्पबाट प्रभावित भएका छन् ।

भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीमा उद्धारकर्मी अझै संघर्ष गरिरहेका छन् भने भूकम्पको २०५ घन्टापछि एक महिलासहित ९ जनालाई जीवितै उद्धार गरिएको छ । टर्कीका राष्ट्रपति तैयप एर्दोगानले भूकम्पका प्रारम्भिक दिनमा समस्या भए पनि अब परिस्थिति नियन्त्रमा आएको बताएका छन् । राष्ट्रिय टेलिभिजनबाट वक्तव्य जारी गर्दै उनले मावन इतिहासमा सबैभन्दा त्रासदीपूर्ण प्राकृतिक विपत्तिको चपेटमा आफ्नो देश परेको बताएका छन् ।

टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना सहरका अभियोजनकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् । भवन संहिता कडाइका साथ कार्यान्वयन गर्न सरकारले सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

संयुक्त राष्ट्रसंघले आगामी तीन महिनासम्म सिरियामा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न ३९ करोड ७० लाख अमेरिकी डलर आवश्यक परेको जनाउँदै अन्तर्राष्ट्रिय समुदायसँग नगद सहयोग अपिल गरेको छ ।

महासचिव एन्टोनियो गुटरेसले टर्कीका लागि पनि सहयोग जुटाउन विश्व समुदायसमक्ष आग्रह गरेका छन् । टर्कीको रेडक्रिसेन्टले आगामी डेढ वर्षसम्म क्षतविक्षत टर्कीमा सहायता परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।

प्रारम्भिव आंकलनअनुसार टर्कीमा ८५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ । झन्डै ७१ अर्ब डलरको भौतिक क्षति आवास क्षेत्रमा भएको छ । एक दशकभन्दा लामो समयदेखि गृहयुद्धले गाँजेको सिरियाको क्षतिको आंकलन भइसकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...