अर्थ मन्त्रालयले थाल्यो आगामी आर्थिक वर्षको बजेटको तयारी

62

काठमाडौँ, ३ फागुन । सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माण तयारी सुरू गरेको छ । त्यसका लागि विभिन्न पक्षसँग छलफलको तयारीमा अर्थ मन्त्रालय जुटेको हो ।

सरोकालवाला विभिन्न पक्षसँग छलफल गर्ने र त्यसपछि कार्यतालिका बनाएर बजेट निर्माण गरिने अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालय बजेट महाशाखाका अनुसार मध्यावधि समीक्षा सकिएसँगै बजेट निर्माणको नियमित प्रक्रियाअघि बढ्ने छ ।

सुरूको चरणमा कस्तो बजेटको अपेक्षा हुन्छ त्यसअनुसार सरोकारवालाको राय लिइने महाशाखाले जनाएको छ । बजेट कार्यक्रम विनियोजन विधेयकका सिद्धान्तहरूको रूपरेखा अर्थ मन्त्रालयले तयार गर्ने छ । त्यस्तै, सार्वजनिक संस्थान र मन्त्रालयको प्रगति विवरणसमेत तयार गर्नुपर्ने छ ।

व्यय अनुमान र खर्च शीर्षकगत अनुमानको मस्यौदा तयार गरिने छ । यी काममा लागि अर्थ मन्त्रालय जुट्नुपर्ने छ । त्यसको कार्यतालिकाबारे अहिले अर्थ मन्त्रालयले छलफल गरिरहेको छ ।

चालु आर्थिक वर्षको कुल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड हुने अनुमान गर्दै बजेट आएकोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्यसलाई घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड हुने संशोधित अनुमान गरेका छन् ।

यो रकम २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले कम हो ।

Share This:
सम्बन्धित खबर
Loading...