काठमाडौँ, २ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले नेपाललाई जितका लागि २८६ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४७ दशमलव ४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले सर्वाधिक ११५ रनको योगदान दिए । ११३ बल खेल्दै उनले दश चौका र चार छक्काको मद्धतमा ११५ रनको योगदान दिए । भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पहिलो पटक शतक प्रहार गरे । यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले सर्वाधिक ८४ रन बनाएका थिए ।
त्यसैगरी, कप्तान रोहित पौडेलले ७२ रन बनाए भने सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्ले २५, करण केसीले २०, कुशल मल्लले ६ तथा सोमपाल कामीले ४ रन जोडे ।
बलिङतर्फ नामिबियाका रुवेन ट्रम्पेलम्यान र जान निकोलले समान तीन÷तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रनको योगफल बनाएको थियो ।
नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । १३७ बल खेल्दै उनले पाँच छक्का र नौ चौकाको मद्धतमा १३३ रनको योगदान दिए । त्यसैगरी नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले ५६ जोडे । जेन ग्रिनले ३४ रन बनाए भने जान फ्रिलिंकले १३ रन जोडे ।
बलिङतर्फ नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट झारे । कुशल मल्ल र सोमपाल कामीले समान १÷१ विकेट लिए ।
यस जितसँगै नेपालले २५ खेलमा २० अंक जोडेको छ । उक्त सिरिजअन्तर्गत अब नेपालले यही फागुन ५ गते स्कटल्यान्डसँग खेल्नेछ ।