टर्की भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

28

एजेन्सी, २९ माघ । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी हालसम्म २८ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

टर्कीमा मात्रै २५ हजार ६२७ जना र सिरियामा ३ हजार ५७५ जनाले ज्यान गुमाएको तथ्यांक छ ।

मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएको अनुमान गरेको छ । टर्की र सिरियामा ९ लाख भूकम्प पीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् ।

टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ ।

उद्धारकर्मीहरू भूकम्पपछिका १०० घन्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् ।

भूकम्पले भत्काएका भवनको भग्नावशेषबाट शुक्रबार एक सय घन्टापछि उद्धार गरिएकी एक महिलाको निधन भएको छ ।

भूकम्प गएको १२९ घन्टापछि एकै परिवारका पाँच सदस्यको जीवितै उद्धार गरिएको छ । भूकम्प प्रभावित नुरूदाग सहरमा उक्त चमत्कार भएको हो ।

मानवीय सहायतासम्बन्धी राष्ट्रसंघका प्रमुखले १०० वर्षपछि शक्तिशाली भूकम्प यस क्षेत्रमा भएको बताएका छन् ।

टर्कीको कहरामनमारस प्रान्तमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले खोज तथा उद्धारमा टर्कीले गरेको प्रयासको सराहना गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख सिरियाको एलोप्पो पुगेर सिरियाली स्वास्थ्यमन्त्रीका साथ त्यहाँका अस्पतालको निरीक्षण गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...