टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २२ हजार नाघ्यो

51

एजेन्सी, २७ माघ । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी हालसम्म २२ हजार ३६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ ।

उद्धारकर्मीहरूका अनुसार टर्कीमा १८ हजार ९९१ जना तथा सिरियामा तीन हजार ३७७ जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा १ हजार ३४० जना हताहत भएका छन् भने विद्रोही पकड जमाएको भूभागमा २ हजार ३७ जनाले ज्यान गुमाएका छन् ।

टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेका छन् । विश्व बैंकले १ अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीका भूकम्प पीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन आह्वान गरेका छन् । साथै उनले आगामी साता टर्की र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन् ।

यसअघि, अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्‌कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको थियो । संयुक्त राष्ट्रसंघीय सहायता निकायका ६ जटा विशाल वाहन राहत सामग्र लिएर सिरिया पुगेका छन् ।

यसैगरी बेलायतलगायत देशले टर्की र सिरियाका भूकम्प पीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन् ।

टर्कीको दक्षिणी प्रान्त कहरामनामारसमा स्थानीय समयअनुसार गत सोमबार बिहान ४ः१७ बजे ७.८ म्याग्निुच्युडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...