एजेन्सी, २७ माघ । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।
टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ । अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको छ । सिरिया र टर्कीका भूकम्प पीडितको सहयोगका लागि उक्त रकम निकासा गरिने सोसाइटीले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय सहायता निकायका ६ वटा विशाल वाहन राहत सामग्री लिएर टर्कीको सिमाना पार गरेर सिरिया पुगेका छन् । यो सहायता सिरियाका लागि पहिलो अन्तर्राष्ट्रिय सहयोग हो ।
टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व संगठनले व्यक्त गरेको छ ।
प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि, उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।
टर्कीको दक्षिणी प्रान्त कहरामनामारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.८ म्याग्निुच्युडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।