एजेन्सी, २५ माघ । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघेको दुवै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीे बुधबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी ८ हजार ५७४ जनाको मृत्यु भएको छ । यसअघि देशको टर्की विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो ।
यसैगरी, सिरियामा कम्तीमा १ हजार २५० जनाको मृत्यु हुनुका साथै दुई हजार ५४ जना घाइते भएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तिमा १ हजार २८० जनाको मृत्यु भएको हुनुका साथै २ हजार ६०० भन्दा बढी घाइते भएको उद्धारकर्मीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
टर्कीको दक्षिणी प्रान्त कहरामनामारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.८ म्याग्निुच्युडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।