एजेन्सी, २५ माघ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म ७ हजार ९०० जनाको मृत्यु भएको छ ।
हालसम्म टर्कीमा ५ हजार ८९४ र सिरियामा २ हजार ३२ जनाले ज्यान गुमाएको सरकारी अधिकारीहरूले बताएका छन् ।
प्रतिकूल मौसमको प्रवाह नगरी भत्किएका भवनका भग्नावशेषबाट बाँचेकाहरूलाई बाहिर निकाल्न उद्धारकर्ताहरू संघर्ष गरिरहेका छन् । उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीहरूले २० हजार मानिस हताहत भएको अनुमान गरेका छन् ।
उद्धार तथा राहतका काम प्रभावकारी ढंगले अघि बढाउन विश्वका विभिन्न मुलुकको सहयोगी टोली परिचालन गरेका छन् । टर्कीका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार ४०० कर्मचारी भूकम्प प्रभावित स्थानमा परिचालन भएका बताएका छन् । करिब ६ हजार भवन भत्केकाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन भएको छ ।
सोमबारको ७.८ म्याग्निुच्युडको भूकम्प, त्यसको केही घन्टापछि झन्डै त्यति नै शक्तिशाली दोस्रो पराकम्पले अस्पताल, विद्यालय र आवासीय भवनहरू ध्वस्त हुनाका साथै हजारौँ घाइते भएका छन् । उत्तरी सिरियामा पनि असंख्या मानिस घरबारविहीन भएका छन् ।