पत्रकार महासंघले भन्यो– सञ्चारकर्मी तथा सञ्चार प्रतिष्ठानमा अप्रिय घटना भए लामिछाने र रास्वपा जिम्मेवार

312

काठमाडौँ, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अभिव्यक्तिलाई लिएर पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । लामिछानेले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक धम्की दिएको भन्दै महासंघले आपत्ति जनाएको हो ।

महासंघद्वारा जारी विज्ञप्तिमा ‘पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो’ भनेको छ ।

महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै संसद्को चौथो ठुलो दलका अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेका व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार भएको समेत बताएको छ ।

“लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ,” महासंघको विज्ञप्तिमा भनिएको छ, “सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ ।”

महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने पनि स्पष्ट पारेको छ ।

सञ्चारमाध्यममा प्रकाशित तथा प्रशारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघको ठहर छ ।

लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघले कडा शब्दमा निन्दा गरेको छ । साथै, आफ्नो अभिव्यक्ति फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघले जोडदार माग गरेको छ ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै सभापति लामिछानेले पत्रकार सम्मेलन गर्दै मिडियाले दोहोरो नागरिकता र राहदानीको विषय निरन्तर उठाएकोमा सञ्चार माध्यम र पत्रकारको नामै लिएर विभिन्न आरोपहरू लगाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...