अमिषा कार्की ह्याट्रिकमा भुटानमाथि नेपालको सहज जित
काठमाडौँ, २२ माघ । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।
बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराउँदै विजयी भएको हो ।
प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
आज भएको नेपालको जितमा अमिषा कार्कीले ‘ह्याट्रिक’ पूरा गरिन् भने कप्तान प्रिति राईले एक गोल थपिन् । खेलको १९औँ मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । त्यस्तै, खेलको पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गरिन् ।
त्यसपछि खेलको ६१औँ मिनेटमा कप्तान प्रितिले गोल गर्दै नेपाल ३–० ले अघि रह्यो । त्यस्तै, खेलको ६२औँ मिनेटमा अमिषाले ह्याट्रिक पूरा गर्दा नेपाल ४–० ले विजयी भयो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।