काभ्रेपलाञ्चोक, २० माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै तहका सरकारलाई खेलकुद क्षेत्र प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समितिद्वारा काभ्रेपलाञ्चोकको पनौतीस्थित क्षेत्रीय रंगशालामा आयोजित बृहत् खेलकुद महोत्सवको आज उद्घाटन गर्दै उक्त सुझाव दिएका हुन् ।
“खेलकुद विकासको पहिलो शर्त नै पूर्वाधार विकास हो, पूर्वाधार विकासमा भने राज्यको लगानी अपेक्षित वृद्धि हुन सकेको छैन,” उनले भने, “त्यसैले सबै तहका सरकारको प्राथमिकतामा खेलकुद क्षेत्र पार्नुहोला ।”
उनले विभिन्न क्षेत्रमा महोत्सवअघि निर्माण गरिएका खेलकुद पूर्वाधार अझै अलपत्र रहेको उल्लेख गर्दै खेल पूर्वाधारमा सबै तहका सरकारले लगानी वृद्धि गर्नैपर्ने बताए । उपराष्ट्रपति पुनले विभिन्न विधाका खेलाडीले पूर्वाधार अभावका कारण कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नुपर्ने बाध्ता रहिरहेको गुनासो गरे ।
“सीमित स्रोत र साधनका बाबजुद हाम्रा खेलाडीले देखाएको साहस र राष्ट्रलाई दिलाएको सफलता भने प्रशंसनीय नै रहेको छ,” उनले भने । खेलकुदको विकासका लागि खेलाडीको सुविधा वृद्धि गरिनुपर्ने उनको भनाइ थियो ।
उपराष्ट्रपति पुनले राष्ट्रिय खेलाडी नै रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता कम गर्न तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न राज्यको तर्फबाट उचित सुविधा र सम्मान गरिनुपर्ने बताए ।