झापा, २० माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको शिक्षा प्राविधिक सीपयुक्त हुनुपर्ने बताएका छन् ।
झापाको दमक नगरपालिका–४ स्थित दमक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास गर्दै अध्यक्ष ओलीले स्वदेशमै रोजगारी प्राप्त गर्नसक्ने शिक्षामा जोड दिए ।
“स्नातकोत्तर तहको प्रमाणपत्र सिरानमा राखेर केही उपलब्धि हुँदैन,” उनले भने, “अब हरेक शिक्षालयले सीपयुक्त शिक्षामा आधारित जनशक्ति उत्पादन गर्नुपर्छ । यसका लागि राज्यले वातावरण बनाउनुपर्छ ।”
चार करोड ६४ लाखमा निर्माण सम्झौता भएको उक्त भवन काठमाडौँको जेभी भाइवा निर्माण कम्पनीले बनाउन ठेक्का लिएको छ । १८ कोठे तीन तले भवन आगामी २०८० असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।