काठमाडौँ, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । बिहीबार साँझसम्म बसेको बैठक तत्काल सरकार नछोड्ने निष्कर्षमा पुगेको हो ।
बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले दुई दिनको समय माग गरेकाले उनीहरूको आग्रह बमोजिम दुई दिनको समय दिइएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवम् महामन्त्री मुलुक ढकालले जानकारी दिए ।
“बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजक केपी ओलीको पनि फोन आएको थियो,” उनले भने, “उहाँहरू दुवै जनाले दुई दिनको समय माग्नुभएको थियो । त्यसकारण हामी दुई दिन कुर्न तयार भएका हौँ ।”
यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उच्चस्तरीय संयन्त्रको बैठक बस्दासम्म दुई दिन सरकार नछोड्न आग्रह गरेको बताए ।
माघ १३ गते सवोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधिसभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएको हो ।
अदालतको आदेशपति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए ।
गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौबाट नागरिकता पुनः प्राप्त गरेका लामिछानेले आफूलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गरेका थिए ।
गैरसांसदलाई पनि ६ महिनासम्म मन्त्री बनाउन मिल्ने संविधानको व्यवस्थाअनुसार आफू मन्त्री बन्नु पर्ने लामिछानेको भनाइ थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यसअघिको सहमतिअनुसार गृहमन्त्री आफ्नो दलले नै पाउने भएकाले गृहमन्त्री नपाए सरकार छोड्ने चेतावनी दिएको थियो ।
एमाले अध्यक्ष ओली गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने पक्षमा भए पनि प्रधानमन्त्री प्रचण्डले भने नयाँ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउन चाहेका छन् ।