प्रतिनिधिसभा बैठकमा क–कसले के भने ?

87

काठमाडौँ, १८ माघ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दैै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको बैठकको शून्य समयमा सांसद अनिशा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशकौँ बितिसक्ता पनि हाल जीर्ण अवस्थामा रहेकाले स्तरोन्नति गर्नका लागि माग गरिन् । सांसद अम्मरबहादुर थापाले कर्णाली राजमार्ग साँघुरो भएका कारण दुर्घटना बढेको बताउँदै दुईतर्फी सवारीसाधन चलाउन मिल्ने गरी निर्माण गर्न सरकारसँग आग्रह गरे ।

सांसद् ईश्वरी घर्तीले रोल्पामा पर्यटन र अन्य विकासभन्दा सबैभन्दा पहिला सुरक्षित सडक निर्माणको आवश्यकता औँल्याइन् । सांसद छिरिङ डम्डुल लामा (भोटे)ले पनि जीर्ण सडकको मर्मत तथा स्तरोन्नतिका लागि आग्रह गरे । सांसद अच्युतप्रसाद मैनालीले देशभरिका पुलको अवस्था कमजोर रहेकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै समयमै मर्मतका लागि आग्रह गरे ।

सांसद डा.अमरेशकुमार सिंहले देशको विभिन्न भागमा आत्महत्या गर्ने क्रम बढिरहेको सन्दर्भमा उच्चस्तरीय न्यायिक समिति गठन गरी सो नदोहोरिने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद अम्बिका बस्नेतले गएराति काठमाडौँ वडा नम्बर ६ मा आगलागीका कारण करोडौँको क्षति भएको जानकारी गराउँदै उचित क्षतिपूर्ति र राहतका लागि सरकारको ध्यानाकर्षण गराइन् । सांसद अमृतलाल राजवंशीले सुकुमबासीको समस्या गम्भीर हुँदै गएको सन्दर्भमा भूमि आयोगको काम प्रभावकारी रूपमा अघि बढाउन माग गरे । सांसद अमृतादेवी अग्रहरिले संसद्लाई राष्ट्र समृद्धिको चिन्तन गर्नुपर्ने थलोका रूपमा विकास गर्नुपर्ने उल्लेख गरिन् ।

सांसद अर्जुननरसिंह केसीले देशमा भ्रष्टाचारको कहालीलाग्दो अवस्था देखिएको बताउँदै ठेक्कापट्टामा देखिएको सिन्डिकेटलाई हटाउन माग गरे । सांसद अशोककुमार चौधरीले इटहरी अस्पतालमा सम्बन्धित विज्ञ चिकित्सकको कमी भएकाले जनताले उपचारमा दुःख पाइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद ईश्वरीदेवी न्यौपानेले पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै रोकथाम गर्नका लागि सरकारसँग आग्रह गरिन् । सांसदद्वय उर्मिला माझी र एकनाथ ढकालले संक्रमणकालीन न्यायलाई छिट्टो निष्कर्षमा पुर्‍याउन माग गर्दै उक्त विषय उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद ऐनबहादुर शाही ठकुरीले मुगुमा बाढीपहिरोका कारण भौतिक संरचना र मानवीय क्षति भएको जानकारी गराउँदै पीडितलाई राहत र क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए । उनले पीडितको अवस्था दयनीय भएको र त्यहाँ बिजुली, सडक, पुल, खानेपानीको अभाव भएको जानकारी गराए ।

सांसद गगन थापाले बैंकको ऋणले थिचिएका साना किसानलाई नियमअनुसार पाउने अनुदान र सहुलियत तत्काल उपलब्ध गराउन सरकारसँग माग गरे । सांसद चन्द्रबहादुर विश्वकर्माले रूकुम पश्चिममा ठेक्का भएको पुल समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद जीवन परियारले यती एयरको विमान दुर्घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरे ।

Share This:
सम्बन्धित खबर
Loading...